मत


 चुनाब आएपछी यत्रतत्र सर्वत्र कुरा हुन्छ उहि मतको । बडो गजब छ यो मत । तपाईंसँग भएको पनि त्यहि एक मत मसँग भएको पनि त्यहि एक मत । विचार, भावना, ज्याला, मानससम्मान, सहयोग, दान, रूप यस्तै मध्ये कुनै एकमात्रै मिले पनि सहमत नमिलेमा असहमत । मत धेरै भए बहुमत नत्र अल्पमत । यहि मत दिने तरिका जानेर सहि तरिकाले दिए सदर नत्र बदर अर्थात न त मत न त अभिमत । जहाँ पायो त्यहि जुनबेला भन्यो त्यो बेला पनि दिन नपाइने । तोकिएकै दिन तोकिएकै समय अवधिभित्र, तोकिएकै स्थानमा मात्र दिन पाइने । सम्झँदै जाँदा यस्ता कैयन विषयवस्तु रहेछन जसको गहिराइसम्म पुगेर केलाउन खोज्यो भने ठूलै समस्या नै आउला कि भन्ने लाग्यो । 

निर्णय प्रक्रियामा सबै सहभागी हुन असहज मात्रै नभइ असम्भव नै हुने अवस्थामा वास्तविक रूपमा अधिकतमको निर्णयका लागि जो चुनिन्छ उहि नै सबै जनताको प्रतिनिधि हो भन्ने मान्यतामा आधारित भएर हामी आफ्नो मत प्रदान गर्ने गर्छौं । मत प्रदान गर्ने प्रक्रियालाई नेपालीमा मतदान भनिन्छ । दान भन्नाले फाइदाको कुनै अपेक्षा नगरी प्रदान गरिनुलाई बुझिन्छ । मैले जोड्न खोजेको विषय हामीले हाम्रो लागि पक्कै सहज निर्णय गर्छ भन्ने उद्देश्यले प्रदान गरेको मत वास्तवमा कुनै निश्चित समयको लागि वारेसनामा गरेर जनप्रतिनिधिलाई दिएकै हो । तर यहि मत दिनका लागि हामी किन वास्तविकता भन्दा धेरै तल गिरेर वा धेरै स्वार्थी भएर निर्णय लिइरहेका छौं भन्ने चै विचरणीय नै छ । 

बहुदलीय प्रणालीमा अधिकतम अवस्थामा अल्पमतले बहुमतलाई शासन गरिन्छ यसकारण यो व्यवस्था ठिक छैन भनि यो प्रणालीका आलोचक राजनीतिशास्त्रीहरूले भन्ने गरेका छन । वास्तवमै भन्ने हो भने भर्खरै सम्पन्न स्थानीय निर्वाचन २०७९ को भद्रपुरको तथ्याङ्कलाई नै यसो नियालेर हेरौं न । भद्रपुर नगरपालिकाको नगर प्रमुख पदको लागि खसेका मतहरू मध्ये सदर मत जम्मा २९९२८ हुँदैगर्दा १२५२५ सदर मत प्राप्त गर्ने उम्मेद्वार निर्वाचित हुनुभएको छ । यसको मतलब मतकै आधारमा हेर्ने हो भने १२५२५ जनाको मत पाइ १७४०३ जना आफूलाई मत नदिएकाहरूको समेत नगर प्रमुख बन्नुभएको छ । 

मैले अघिल्लो अघिल्लो पोष्टहरूमा समेत जोड दिएको विषय । जाबो एकजना उम्मेद्वारलाई एक मत दिनुपर्ने र बढीमा ७ जनालाई मत दिनुपर्ने अवस्थामा राम्रोसँग बुझेर आफ्नै तरिकाले निर्णय लिन अल्मलिनुपर्ने परिस्थिति किन छ ? यो हाम्रो चुनौती हो कि हैन ? यो सँग हाम्रो मानवीय विकास जोडिन्छ कि जोडिदैन ? मानवीय विकासलाई प्राथमिकतामा राख्न शुरूवात कहाँबाट कसरी हुनसक्छ ? पूर्ण साक्षर जिल्ला भइरहँदा २६ अक्षर क-ज्ञ सम्म जहाँ राखेर जसरी पनि चिन्न सक्नेले जाबो कस्को कता कुन भनेर चिन्न नसक्ने अवस्थाले के चित्रण गरिरहेको छ ? सवाल अनेकन छन, समाधानका लागि पहल कहाँबाट कसरी कसले शुरूगर्छ यसै भन्न सकिने स्थिति छैन । मैले फेरि पनि जोड्न खोजेको विषय विकास मानिसको लागि हो । त्यसैले त्यो अनुभुत गर्नसक्ने गरीको जनशक्ति तयार गर्नुपर्यो  । सबैखाले कार्यक्रमहरूको तादाम्यता मिलाउनु पर्‍यो । 

हाम्रो हकमा अलिकति वित्तीय साक्षरता र काममा अलि बढी ध्यान दिइ कुरामा अलि नियन्त्रण गर्नसके मात्रै हामी सफल हुनसकिएला । कुरा बडेमानका गर्ने काम गर्ने बेलामा सिन्को नभाँच्ने प्रवृत्तिले कुनै पनि हालतमा फाइदा गर्दैन । मत नदिनु त प्रजातान्त्रिक प्रणालीकै विरोधी बन्नु हो । प्रजातान्त्रिक प्रणालीमा समाहित हुँदैगर्दा र मतदानमा सहभागी भइरहँदा मैले मतदान गरेको व्यक्ति मेरो पक्का अनि सच्चा प्रतिनिधी हो भन्ने वास्तविक बुझाइ नबनुन्जेलसम्म आशातित परिवर्तन र उपलब्धि हासिल हुन्छ भन्ने कुरामा म चैं सहमत हुन सकिन ।।।।

"कसैको मत जनमत भयो कसैको भो फगत, 

जनमत नै हो आधार, बदलोस है जगत"


Post a Comment (0)
Previous Post Next Post