परिवर्तन अनि स्थानीय निर्वाचन २०७९


परिवर्तन चिरस्थायी छ, यो शास्वत सत्य हो यद्यपि हरेकले गर्ने संघर्ष परिवर्तनका लागि नै हुन । हरेकलाई आफ्नो विगतभन्दा सुधारिएको वर्तमान अनि वर्तमान भन्दा परिष्कृत भविष्यको चाह हुन्छ । इच्छा र चाहना मात्र आशातित परिवर्तन र प्रगतिका लागि पर्याप्त पक्कै हुन सक्दैनन । 

नेपालको राजनैतिक विकासक्रमलाई हेर्ने हो भने अनेकन राजनैतिक परिवर्तनहरू सफल भइसकेका छन यद्यपि न त नेतृत्वगणले उद्घोष गर्ने गरेका मूर्त परिवर्तनहरू हासिल भएका छन  न त नेतृत्वगणप्रति जनमानस नै सन्तुष्ट छन । यति हुँदाहुँदै पनि बहुदलीय पार्टी प्रणाली भएकै कारणले कार्यकर्ताहरू आफ्ना नेतृत्वगणसँगका कैयन असन्तुष्टिहरूलाई मनभित्रै गुम्स्याउन बाध्य छन । जनताको शैक्षिक तथा जनचेतनाको खासै माथि उठिनसकेको स्तरकै कारणले पनि उहि पुरानै राजनैतिक दलहरू देश र जनताका लागि भनेर नै अहिलेसम्म अग्रपंक्तिमा रहन सफल भएका छन । 


संसारकै उत्कृष्ट हावापानी हुँदाहुँदै अनि ६१ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित हुँदाहुँदै पनि कृषि उपजहरूको आयात दिनानुदिन बढ्दै गइरहेको छ । गाउँमा जमिन बाँझो छोडेर अनि तिनै जग्गा धितोमा राखेर न्युन शुल्कमा वा निःशुल्क रूपमै जान सकिने खाडी तथा मलेशियामा लाखौं लगानी गरी श्रम बेच्न युवा शक्ति बाहिरिरहेको छ । वर्षौं विदेशमा पसिना बगाएर नेपालमै केहि गर्छु भनेर फर्केको एक सच्चा नेपाली नेपाल आएपछी मेरो आफ्नो देश नै हैन कि भन्न दुःखेसो बोकेर भौतारिरहन्छ । लाखौं वैदेशिक रोजगारीकै क्रममा ठगिएकाहरू न्याय नपाएर भगवानले त हेर्ला नि भनेर आशातित बनिरहेका छन । विदेशमै पुगेर अलपत्र परेकाहरू तथा विविध समस्यामा परेकाहरू सहि सलामत ढंगले नेपाल पुगिएला कि नपुगिएला भनेर छट्पटाइरहेका छन । देशमै केहि गर्छु भनेर संघर्ष गरिरहेकाहरू समेत विविध प्रक्रियागत झंझट र बजार व्यवस्थापनमा सरकारको नभइ बिचौलियाको प्रभावले हरेस खाइसकेका छन । 

सार्वजनिक शिक्षा र स्वास्थ्य चुस्त, सबल अनि किफायति बन्न नसकेकै कारणले जनताहरू दोहोरो करको मारमा परिरहेको स्थिति छ । सामुदायिक विद्यालयहरू बन्द हुनुपर्ने अवस्थामा पुगेका छन । तर निजी विद्यालयहरू नयाँ भवन अनि सवारी साधन थपिरहेका छन । कक्षा १ कै लागि मध्यमस्तरका निजी विद्यालयहरूमा मासिक करिब ८/९ हजार शुल्क पुगिसकेको छ । सरकारी अस्पतालको एक्स रे ले राम्रोसँग काम गर्दैन, कोभिडको समयमा निर्माण हुनुपर्ने कैयन अक्सिजन प्लाण्टहरू शुरू हुनै सकेनन, शुरू भएका चल्नै छोडिसके, डक्टरहरू औपचारिकताका लागि मात्रै आएको भान हुन्छ । उता निजी अस्पतालहरू एसियाकै उत्कृष्ट मेसिनबाट सेवा भनिरहेका छन । अन्य परिस्थितिमा जे सुकै भएपनि आफ्ना आफन्तजन बिरामी पर्दा जसलाई पनि बचाउन पाए हुन्थ्यो बरू खर्च जति होस भन्ने लाग्छ । सरकारी अस्पतालमा बचाउन सकिएला भन्ने विश्वास नै लाग्दैन, निजी अस्पताल पुर्‍याइसक्दा बिरामीसँग गएकाहरू मानसिक बिरामी भइसक्छन । 

स्थानीय निर्वाचन २०७९ जनप्रतिनिधीको परिवर्तनका लागि मात्र पक्कै हैन, स्थानीय सरकार अधिकार सम्पन्न छ । प्रत्येक स्थानीय सरकारले आफ्ना जनताको लागि महशुस गर्ने गरिका केहि मात्र परिवर्तनका कार्यक्रम संचालन गर्न सके पुरै देशका जनताले परिवर्तन महशुस गर्नेछन, राह महशुस गर्नेछन । 

जनताको स्तर बढ्दै गरेको र परिवर्तनका लागि अब विस्तारै एजेन्डा मात्र भएका तर कार्यान्वयनमा असंवेदनशील बनेका नेतागणका लागि अब खराब दिन शुरू भएका हुन कि भन्ने संकेत बालेन शाह, गोपाल हमाल, हर्क साम्पाङ्गले पाएको जनमतले थोरै भएपनि पुष्टि गरेको छ । 

जे जस्तो भएपनि स्थानीय निर्वाचन २०७९ को नतिजा प्राप्त हुने अन्तिम अन्तिम चरण हुँदै गरेको यो क्षणमा अब पनि स्थानीय सरकारले सार्वजनिक शिक्षा, स्वास्थ्य र रोजगारको विषयमा गम्भिर नभइ कार्यक्रमहरू संचालन गरे नेतृत्वगणको दुर्दशा शुरू हुने सुनिश्चित रहेछ भन्ने मेरो चैं बुझाइ हो । 

स्थानीय सरकारले अब बनाउने बजेट, निती तथा कार्यक्रममा देशमै रोजगारी र उद्यमशिलता सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई कम खर्चिलो, सुरक्षित, व्यवस्थित र उपलब्धिमुलक बनाउने अनि सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य कार्यालयहरूको गुणस्तरलाई सुदृढ गर्ने विषय समावेश गर्न सके अन्य धेरै विषयहरू थप सहज बन्न सक्नेछन । 

"परिवर्तन चिरस्थायी छ, यो आशातित र महशुस योग्य बनोस"


Post a Comment (0)
Previous Post Next Post