मेरो छोरा नजिकैको सामुदायिक विद्यालयमा ३ कक्षामा पढ्छन । आफू पनि जीवनभर सामुदायिक/सरकारी शिक्षण संस्थाकै विद्यार्थी भएकोमा मलाई गर्व छ त्यो भन्दा अझ बढि म स्वयंले कखरा पढेको विद्यालयमा मेरो छोरो कखरा पढ्दै गरेको क्षण गर्व गर्न लायक छ । मैले कैयौं पटक आफ्नो सन्तान सामुदायिक विद्यालयमा पढ्दै गरेकै कारणले अपमानित व्यवहारको प्रतिकार गर्नु परेको छ भने कैयौंले छोराको पढाइ बिगारी बिगारी के दाउपेच हो भन्ने सम्मको आक्षेप सहन गर्नुपरेको छ । शैक्षिक क्षेत्रमा विगतको आफ्नो अनुभव अनि शिक्षा र बालबालिकाका क्षेत्रमा निरन्तर जानकार रहन खोज्ने हुटहुटीले सामुदायिक शिक्षा सुधार्नमा मेरो केही योगदान रहनसक्छ भन्नेमा आशावादी रहेको म बिस्तारै आशाको क्षयीकरण हुँदै गइरहेको महशुस गरिरहेछु । यसका साथै ग्रामीण विकासको विद्यार्थी हुँदै यसको अभ्यासकर्ता बन्दै गरेको अनुभव अनि विद्वत वर्गका सिद्धान्तले समेत सबैभन्दा बढि दीगो कार्यक्रम सहभागीतात्मक पद्धतिबाट सफल हुन्छन भन्ने भनाइ अनुरूप नेपालको सामुदायिक शिक्षा खस्कनुको पछाडी सरोकारवालाको सहभागीताको अभाव हो भन्ने मेरो ठहर्याइ हो । यसरी हेर्ने हो भने यहीँ ए लेबल पढेर अमेरिका रहेको आफ्नो सन्तानसँग गफ गर्दै १०/११ वर्षसम्मका विद्यार्थीलाई दिवा खाजाको रू. १५ छुट्याउने नीति निर्माताको सहभागीता म कहाँ खोजुँ ? यो एउटा प्रतिनिधिमुलक उदाहरण मात्र हो । आफ्नो बच्चाले देश/जिल्ला कै मँहगो र कहलिएको निजी विद्यालयमा टिफिन खायो कि खाएन चिन्ता गर्दै राष्ट्रिय देखि स्थानीय स्तरका शिक्षाका नीति निर्माता, कार्यान्वयनकर्ता, अनुगमनकर्ताहरूको सहभागीता बिनाको सामुदायिक शिक्षामा एउटा आमूल क्रान्तिको महशुस गर्दैछु म । भण्डाफोर गर्न मन छ मलाई थरि थरिका शिक्षक राख्ने पद्धतिको, शैक्षिक विकासका लागि हैन प्रक्रियागत ढंगले हजम गर्ने गरि बजेट छुट्याउनेहरूको, समान पद, समान ज्याला र असमान श्रम समयको अनि सहभागीता बिनाको शैक्षिक विकासको । शिक्षा, स्वास्थ्य र रोजगार नागरिकका नैसर्गिक अधिकार हुन, संवैधानिक प्रदत्त अधिकार हुन । यसको उचित व्यवस्थापनका लागि राज्य लाग्दैन भने जनता लाग्न जरूरी छ । आउनुहोस शिक्षा क्षेत्रबाट यसको शुरू गरौं । मैले माथि नै भने सहभागीतात्मक विकास नै हो वास्तविक विकास । यदि यसो हो भने आउनुहोस हामी सामुदायिक विद्यालयका अभिभावकको नीति निर्माण हुँदै कार्यान्वयन र अनुगमनमा हाम्रो भूमिका खोजौं । डराइ डराइ मेरो बच्चा सामुदायिक विद्यालयको विद्यार्थी हो भन्नुपर्ने अवस्थाको अन्त्य गरौं । अब पनि नजाग्ने हो भने निकै ढिला भइसकेको हुनेरहेछ ।
