मौलिकता भित्रको म

आज पौषको मसान्त अर्थात भोलि माघे संक्रान्ति, मकर संक्रान्ति वा माघी । यसको साथै पौष २९ गतेलाई भक्का दिवसको रूपमा मनाउन थालिएको आज आठौं वर्ष पनि । म आफू नागरिक भद्रपुर नगरपालिकाको अनि कर्मचारी मेचीनगर नगरपालिकाको । आफू नागरिक भएको स्थानीय तहले एउटा मौलिक पर्वको अवसरमा स्थानीय बिदा दिने घोषणा गरेसँगै हिजै असहज अनुभूति भइरहेको थियो । बिहानै उठेर भोलिको विशेष परिकार तरूल खन्ने काम गर्दा फरक मौलिकपनको महशुष भइरहेको थियो । बिहानको सामान्य कामधन्दा सकेर यसो फेसबुकमा औंला नचाउँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको अर्को महिना सञ्चालन हुन गइरहेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको विज्ञापनिक पोष्ट हेर्दै गर्दा अर्को मौलिकपनले मनै तरङ्गीत बनाइरहेको थियो । झल्याँस्स त्यहि बेला ओहो आज देखि त मेचीनगर ४ बाहुण्डाँगीमा ३ दिने अन्तराष्ट्रिय तरूल उत्सवको उद्घाटन भन्ने कुराले अर्को मौलिकताको आभाष दिलाएको थियो । 

संसारभर फरक फरकका मौलिकताहरू हुन्छन त्यो अनौठो विषय हैन । त्यस्तै नेपालमा पनि छन त्यो पनि अनौठो विषय पक्कै हैन । तर हाम्रो देशमा मौलिकता र मौलिकपन अलि चाँडै अदृश्य बन्दै गए कि भन्ने भान चैं अनौठो नै हो । हामी नेपालीले वास्तवमा सुचना प्रविधीको युगको जग राम्रोसँग नबसाइकन नै छत लगायौं कि भन्ने अन्यौलता चैं पक्कै हो । संसार परिवर्तनशील छ । यो परिवर्तनशील संसारमा विकासका अनेकन परिक्षण र प्रयासहरू सफल बन्दै मानिसको जीवन सहज बनाइरहेका छन । तर यी सबै सफलताहरू प्रकृतिका अगाडी निष्काम छन भन्ने कुरा क्यालिफोर्नियामा फैलिरहेको डरलाग्दो आगो र यसको रोकथामका लागि निरीह प्राय बनिरहेको लस एंजल्स काउन्टी र अमेरिका सरकारको अवस्थाले स्पष्टै पारेको छ । मौलिकता माटोसँग जोडिएको हुन्छ, पानीसँग बगेको हुन्छ अनि हावामा मिसिएको हुन्छ । त्यसकारण यसको संरक्षण, संवर्द्धन र दीगोपनाको जिम्मेवारी मानवमा निहित हुन्छ अझ भनौं स्थानीयवासीमा निहित हुन्छ । पर्यावरण र संस्कृतिको सम्मिश्रण नै मौलिकता हुन जुन भूगोल र परिवेश अनुसार फरक फरक हुन सक्छन । हाम्रो तरूल, तिल, बाँस, गुन्द्रुक, सजिवनसँगको सामिप्यताले बनेको मौलिकता बर्गर, पिज्जा र स्याण्डविचहरूले पक्कै जोगाउन सक्दैनन । हाम्रो बाँससँगको जीवन सम्वन्ध र नीकटता फाइबर र प्लाष्टिकले उस्तै बनाउन सक्दै सक्दैनन । 

बिहान कार्यालय पुगेदेखि नै सँगैका सहकर्मी साथीहरूको मानवशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गर्ने बाध्यता वा रहरले मानव मौलिकता, संस्कृति अनि यसको अध्ययनका विषयवस्तुहरू चर्चाको विषय बनिरहेका थिए । हरेक दिन वैदेशिक रोजगारीमा जानेहरूको साक्षी बन्नुपर्ने बाध्यता र वैदेशिक रोजगारीबाट फर्केर आएका व्यक्तिहरूको पुनःएकिकरणमा दिनुपर्ने जति योगदान गर्न नसकिरहेको अवस्थामा मौलिकता, रोजगारी सिर्जना र उद्यमशीलताको विकासको अन्तरसम्वन्ध पटक पटक छलफल गरिरहनु दिनचर्या नै बनेको छ । कार्यालय समयको अन्त्यतिर आफ्नै नगरपालिका क्षेत्रभित्र प्रकृति र संस्कृतिको घुलनलाई मिठोसँग पस्कन प्रयास गरिएको तेस्रो अन्तराष्ट्रिय तरूल उत्सवको पहिलो दिनको कार्यक्रम दोस्रो पटक चक्षुपान गर्ने रहरलाई अन्य २ सहकर्मीको साथले सार्थकता दिनपुग्यो । फरक फरक प्रसंगका मन छुने देखि उडन्ते कुराहरू गर्दै कार्यक्रम परिसर पुगियो । मञ्चमा कुर्सी टेबल बिनानै स्थानीय परालबाट निर्मित सुकुल र गुन्द्रीहरूमा अतिथीहरूलाई आसन ग्रहण गराइ गरिएको आतिथ्यताको मौलिकपन अर्को रमाइलो पक्ष थियो । कार्यक्रमको पहिलो दिन भएर होला खासै ठूलो भिडभाड नभएपनि मौलिकता सहितको फरकपन झल्काउन लगभग सामर्थ्यवान नै थियो । हात्तीमैत्री कृषक समूह, हात्तीमैत्री सामुदायिक होमस्टे, नगर लघुउद्यमी समूह लगायतका केहि स्टलहरू भएपनि अन्य खाली नै थिए । हात्तीमैत्री कृषक समूहको मौलिक कृषि उत्पादनहरू बेल्चन्डा, किम्बुको वाइन, सजिवन पातको पाउडर, कोदोको पिठो, तामाको मेसु, काउसो सिमीले मन फूरूङ्ग पारिरहँदा र यो मौलिकता सहितको उत्सवको एउटा सहभागी बन्न पाउँदा गर्वको अनुभूति भइरहेको छ । घर आएर खाना खाएपछि पुनः यसो मोबाइल चलाउँदै गर्दा हेर्ने कथाको आसामका कथाहरूमा माटो, परिवेश, भूगोल, भाषा र राष्ट्रियताको फरकपन सहितको मौलिकताले यति कोर्न रहर जगायो । इति ।।

Post a Comment (0)
Previous Post Next Post