नभन्ने कुरा भनेछु
नगर्ने काम गरेछु
धेरैको चित्त दुखाएछु
अहो ! गलत त मै पो रहेछु ।
माथिको निर्णय मानिनछु
देखाउनकै लागि मात्र काम गरिनछु
यथास्थितिमा बस्दिन भनेछु
अहो ! गलत त मै पो रहेछु ।
मानवता र मानवीयता दुनियाले बुझेभन्दा फरक बुझेछु
कर्तव्य र अधिकार सन्तुलित गर्नुपर्छ भनेछु
नयाँ कुरा नसिक्ने पनि मानव जीवनमा हुन्छ र ? सोधेछु
अहो ! गलत त मै पो रहेछु ।
हरेकका आफ्नै क्षमता हुन्छन सोचेछु
बालबालिका पनि मानिस नै हुन ठानेछु
जेष्ठ नागरिक ज्ञानका खानी हुन बुझेछु
अहो ! गलत त मै पो रहेछु ।
शिक्षा प्रणाली सुधार्न सकिन्छ सिकाएछु
पर्यटन प्रवर्द्धन गर्न सकिन्छ सुनाएछु
कृषिमा आधुनिकीकरण सम्भव ठानेछु
अहो ! गलत त मै पो रहेछु ।
गलत भएको थाहा पाएँ
अनि अर्को निर्णय लिएँ
काम बिगारि नै रहुँला अनि फेरि भनुँला
अहो ! गलत त मै पो रहेछु ।