नेपाल कृषि उपजहरूको अधिकतम आयात गर्ने कृषि प्रधान मुलुक हो जहाँ प्रत्यक्ष रूपमा कृषि पेशामा ६१ प्रतिशत मानिसहरू संलग्न छन । गोर्खालीको देश, बहादुरहरूको देश विस्तारै श्रमिकहरूको देश बन्दै गइरहेको छ । वैदेशिक रोजगारीले अर्थतन्त्रमा थुप्रै सकारात्मक प्रभावहरू छोडेका छन । वैदेशिक रोजगारीमा जानेहरूकै कारणले थुप्रै थप व्यवसायहरू धानिएका छन । खराब नै सहि हजारौंले अकुत सम्पत्ति कुम्ल्याएका छन । गाउँ गाउँमा निजी विद्यालयहरू खुलेका छन, घरका स्वरूप फेरिदैं छन, सार्वजनिक बसहरू सँगसँगै निजी सवारीसाधनहरू समेत रिजर्भमा सहज ढंगले चलिरहेका छन ।
नेपालमा सेवा गर्नेहरू प्रहरी सेनामा भए १६ वर्षमै पेन्सन प्राप्त गर्न योग्य हुन्छन अनि अन्य सेवामा पनि आफूले नै लिने हो भने २० वर्षमा पाइन्छ भन्ने मेरो बुझाइ हो । पेन्सन नै नभए पनि एउटा मोटो रकम उपदानका रूपमा पाइन्छ भने अर्कोतर्फ प्रत्येक महिनाको कमाइबाट संचय गरेर राखिएको रकमको एकमुष्टता छदैछ । हुनतः "नेपालको तलबमानमा के नै आउँछ र ?" भन्ने गुनासो सुनिनेगरेकै छ । यद्यपि बाँकी जीवनलाई थोरै सहज बनाउन अनि आफ्नै केहि दुखिजिलो गर्छु भन्ने हो भने पनि एउटा दृष्यवान केहि गर्न सकिने अवस्था रहनसक्छ ।
अब अलिकति फरक ढंगले हेरौं त लाखौं रकम अर्कालाई सुम्पिएर काम, तलब, कम्पनि, स्थान अनि कहिलेकाहिं त मुलुक नै पनि मध्ये कुनै एक या सबै फरक परेर पनि आफ्नो कर्मै खोटो भन्दै आफ्नो उर्जाशील समयको श्रम र पसिना अर्काकै माटोमा झण्डै झण्डै सुकाइसकुन्जेलसम्म घर परिवार पाल्न, छोराछोरीलाई यसो राम्रो शिक्षा दिन, दुःख बिराम परेको बेला यसो राम्रो ठाउँमा उपचार गर्न, झुपडीलाई अलिकति व्यवस्थित गर्न मै व्यस्त एक परदेशी फर्किएर आउँदा के पाउँछन धेरैबेर घोत्लिँदा समेत मैले मेसो पाउन सकिन । विदेशमा १० वर्ष बसिसकेपछी एकमुष्ट ठूलै रकम आउछ रे भन्ने सुनेथे पहिले त तर खै आजभोलि २०औं वर्ष विदेशमा रहने केहि त आफ्नै साथीहरू भइसक्नुभएछ वहाँहरूको कुरा सुन्दा खासै त्यस्तो उपलब्धिमुलक केहि हात पर्ने जस्तो बुझिएन । अनि अझ अर्को कुरा विदेशिदै गर्दा ऋणको भारीको बोझले होला हाम्रा प्रत्येक दाजुभाइ दिदीबहिनीहरूले यति परसम्मको भविष्य खासै धेरै सोच्नुभएजस्तो देखिदैन ।
हामीले एउटा सबैभन्दा ठूलो भ्रम चिर्न जरूरी छ अझै पनि धेरै दाजुभाइ दिदीबहिनीहरूलाई विदेशले हामीलाई काम दिइराखेको छ धेरै जान्ने बाठो भयो भने झन काम बिग्रन्छ भन्ने नै लाग्छ । के वास्तविकता यहि हो त ? पक्कै हैन हामीलाई थोरै पैसामा काम लगाएर उनीहरूका लागि धेरै कमाइदिन हामी त्यहाँ पुगेका हौं । हो यो हामीले बुझ्ने कहिले ? यति मात्रै बुझ्न सके पनि कानुनले अवैधानिक बनाइदिएको एजेन्टहरूको जालमा पर्नेहरूको संख्या अलि घट्ने थियो ।
वर्तमानको ऋणको भारी बिसाएर विगतको दुःखलाई परदेशको कमाइले एउटा कुनामा सकेसम्म कहिल्यै ननिस्कने गरी थन्काउने अभिलाषा बोकेर पेन्सन वा उपदानको अपेक्षा नगरीकन बिदाइको हात हल्लाउने नेपालीको विवशता कहिलेसम्मलाई होला ? कसरी अनुमान गरौं ? सोच्न सकिरहेको छैन म !
एउटा प्रस्तुतिको लागि केहिदिन अघि यसो झापा केन्द्रित भएर तथ्याङ्क हेरिरहेको थिएँ अत्यन्त भावुक बनायो । झापाबाट मात्रै आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाहरूको संख्या ५३ रहेछ । अहिलेका १५ वटा पालिकालाई भाग लगाउने हो भने हरेकको भागमा ३ भन्दा बढी नै परेछ । केहि वर्षअघिसम्म पुग्ने प्रयास गरिरहेको छु, मलाई हुटहुटि जागेको छ यो तथ्याङ्कभन्दा बाहिर भएका कति होलान ? हे पेन्सन र उपदानका अपेक्षा नगरेकाहरू हो! आउनुहोस एकपटक एकजुट बनौं फर्किएर देशमै केहि गर्दैहुनुहुन्छ वा गर्ने सोच्दै हुनुहुन्छ अब हामीले एकले अर्कालाई टिकाउने सोचौं न । आजलाई यति नै ।।।।
