नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय परियोजनाको रूपमा समयानुकुल परिवर्तन हुँदै तेस्रो चरणसम्म आइपुग्दा झापा जिल्लामा सुरक्षित आप्रवासन परियोजना संचालन गर्ने परामर्शदाता संस्था विराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडको तर्फबाट सुरक्षित आप्रवासन परियोजनाको परियोजना संयोजकको रूपमा कार्य गर्दै गर्दा श्रम आप्रवासनसँग सम्वन्धित भएर आफूसँग भएका ज्ञान सीपलाई थप गहिराइसम्म पुर्याउन र यसको सफल कार्यान्वयन अनि सकारात्मक प्रभावका लागि निरन्तर प्रयास गर्दै लगभग ३ वर्ष (३२ महिना) पार गरिएछ । यो कार्य गर्ने क्रममा थुप्रै नयाँ अनुभवहरू, नयाँ व्यक्तित्वहरूको साथ अनि थुप्रै सकारात्मक पाटाहरू संगाल्ने अवसर जुरेको छ । वैदेशिक रोजगारीको क्रममा आँफैले अनुभुत गरेका बिर्सन लायक क्षणहरूलाई आत्मसात गर्दै कार्य गर्ने दौरानमा सायद म आफू सबल नभएकै कारणले हुनसक्छ झापामा आशातित उपलब्धि हासिल गर्न सकिएन । झापा जिल्लाका चार स्थानीय सरकारहरू भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, दमक नगरपालिका र गौरीगंज गाउँपालिकाको साझा परामर्शदाता संस्थाको परियोजना कार्यान्वयन गर्ने प्रतिनिधी भएको कारणले सम्पूर्ण स्थानीय सरकारका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यूहरू, कर्मचारी ज्यूहरू, जिल्ला प्रशासन तथा इलाका प्रशासनका सर म्याडमहरू, हेल्भेटास नेपालका सर म्याडमहरू, प्राविधिक पक्ष तथा अन्य फरक विधामा रहेर कार्य गर्नुहुने राष्ट्रिय स्तरका संस्थागत व्यक्तित्वहरू, मेरा सहकर्मी साथीहरू अनि विराट सामुदायिक अध्ययन केन्द्रका पदाधिकारी तथा सदस्य ज्यूहरूको निरन्तर साथ र सहयोगले गर्दा मात्र जे हासिल गरियो त्यो सम्भव भएको हो अनि जे हासिल गर्न सकिएन त्यो म आफूले गर्न नसकेर मात्रै हो भन्ने मैले महशुस गरेको छु । यो श्रम आप्रवासनको विषयमा म आफूले सिक्न जान्न खोज्दै गर्दा मेरा कुराहरूलाई परियोजनाको सफल कार्यान्वयनका लागि अथवा भनौं तल्लो स्तरसम्म परियोजनाका विषयमा सुचना प्रवाह गर्न मिडिया क्षेत्रले अतुलनीय योगदान पुर्याको छ तसर्थ मिडिया क्षेत्रलाई अत्यन्त हृदय देखि नै धन्यवाद दिन चाहन्छु । यसका साथै वैदेशिक रोजगारीको यात्रालाई बिट मारेर नेपाल नै रहनुहुने रिटर्नी दाजुभाई दिदीबहिनीहरूको समेत यो न्यानो साथका लागि धन्यवाद दिन चाहन्छु अनि हाम्रो सम्वन्ध निरन्तर रहिरहोस भन्ने समेत कामना गर्दछु ।
यहि सिक्ने क्रममा मेरा सिकाइहरूलाई प्रसारण गरिएका केहि अडियो भिडियो सामाग्रीलाई मेरो यो आफ्नो पेजमा राख्ने जमर्को गरेको छु । वास्तवमा यी सामाग्री मैले संरक्षण गर्न खोजेको हुँ । अन्त्यमा हाललाई म परियोजनामा नरहे पनि यो क्षेत्रमा समस्या परेका व्यक्तिहरूको समस्या समाधानका लागि मैले खेल्ने भुमिकामा कुनै कमि हुने छैन सो समस्या सम्वन्धित निकासम्म पुर्याउनका लागि पहिले म जति जिम्मेवार थिएँ अहिले पनि त्यति नै जिम्मेवार बनेर आफूले सकेको प्रयास गर्नेछु भन्ने कुरा पनि यहाँहरूसँग राख्न चाहन्छू ।
हिमशिखर टेलिभिजनमा भूमी पराजुलीले हिम शिखर टक शोमा २०७८ माघतिर दमकमा एक कार्यक्रम संचालनका लागि गएको बखत अप्रत्याशित रूपमा स्टुडियोमा स्वागत गरि तयार गर्नुभएको सामाग्रीः
यसैगरी आदरणीय साबित्रा म्याडम र अम्बिका म्याडमले परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रममा २०७८ को चैत्र तिर सुरक्षित आप्रवासन सम्वन्धि म सँग जोडिएर तयार पार्नुभएको सामाग्री (म २७ मिनेट पछि जोडिएको जानकारी गराउन चाहन्छु ।)