आज फेरि यही कार्यालय, यही ऐना लागेको ढोका, यही पुरानो फाइल र नयाँ पुराना अनुहारहरू । वर्षौं पछि आज म फेरि यहाँ छु, तर आजको मेरो यात्रा त्यो दिनको निरन्तरता मात्र हो । त्यो दिन जब म यहाँबाट निस्कँदा विजयको उत्साह थियो, आज चाहिँ आँखामा असहायताको आँसु छ ।
यो
कार्यालयको प्रवेशद्वारमै एउटा ठूलो वाणी टाँसिएको छ: "सेवाग्राहीको
सन्तुष्टि नै हाम्रो लक्ष्य ।" कति हाँस्यास्पद! के यो सन्तुष्टि हो ? के यो लक्ष्य पूरा भएको छ ? म सोच्दछु ।
बाइस
वर्ष अघि,
भर्खर भर्खर कार्यालय बुझ्दै गरेको मैले आफ्नो सम्पूर्ण
कागजात जुटाएर आवेदन दिएँ, कति आशा
र विश्वास थियो मनमा । हरेक चरण पूरा गरेँ, हरेक माग पूरा गरेँ, हरेक दस्तखत गरेँ अनि आफ्नी आमालाई गराएँ । अन्ततः जब मैले
त्यो प्रमाणपत्र हातमा लिएँ, कति
ठूलो उपलब्धी महसुस गरेँ । सबै भन्दा पहिले मैले मेरी आमालाई सुनाएँ: "आमा, काम भयो! अब हाम्रो भविष्य सुरक्षित छ!" जीवनमा एउटा अनिश्चितताको
अन्त्य भएको छ, अनि सुनिश्चितताको शुरूवात । अब हामी आफ्नै भूमिमा उभिएका छौं ।
तर
आज थाहा भयो, त्यो प्रमाणपत्रमा नै
गल्ती थियो । एउटा धर्सा, एउटा अक्षर, एउटा तिथि, एउटा
विवरण... जो कर्मचारीले त्यसबेला हेलचेक्र्याइँले वा अज्ञानतावश वा गलत मानसिकताले
वा केहि फाइदा लिनए भरिदिए र आज त्यो
गल्तीले मेरो जीवनमा कति दुःख ल्याएको छ । म सयौंका हजारौं समस्यालाई आफ्नै समस्या
सम्झेर समाधानका निम्ति अघि सर्ने व्यक्तित्व वर्षौं देखि आफ्नै समस्या ज्यूँ का
त्यूँ बोकेर हिडिरहेको रहेछु ।
"हेर्नुस, यो
त पहिलेकै कर्मचारीको गल्ती हो । त्यसबेला तपाईंले पनि जाँच्नुपर्थ्यो नि,"
भन्छन् यहाँका नयाँ कर्मचारी । उनीहरूका आँखामा कुनै अफसोच
छैन,
कुनै जिम्मेवारी छैन । के मलाई थाहा थियो र ? के म कानुनको विज्ञ हुँ र ? के सबै सेवाग्राही जानेका बुझेका वा विज्ञता सहितका हुन्छन
कि उनीहरूले प्राप्त गरेको सेवा सहि छ कि छैन भनेर जाँच गर्न सकुन ? म यहाँ आउनु
भनेको विज्ञता देखाउन हो कि सेवा लिन?
म
त्यही विश्वासमा थिएँ जुन हरेक सेवाग्राही राख्छ – सरकारी कर्मचारीले सहि जानकारी
दिन्छन्,
सहि प्रक्रिया बताउँछन्, सहि कागजात तयार गर्छन् । मैले पनि त्यही विश्वास गरेँ... र
त्यही विश्वासले मलाई आज यस अवस्थामा पुर्याएको छ ।
आज
झण्डै एक वर्ष भइसक्यो, म यही
समस्याका कारणले थुप्रै धक्का खाँदै, एउटै कुरा सुन्दै: "तर यो त हाम्रो गल्ती होइन, कार्यालयले त सबै काम ठीकसँग गरेको हुन्छ जाँच गरेर सुनिश्चित
गर्ने जिम्मा तपाईंकै हो नि ।" कर्मचारीहरूका लागि म त एउटा नयाँ मुद्दा
मात्र हुँ, पुरानो गल्तीको एउटा
परिणाम मात्र ।
अहिले
म त्यो कर्मचारीको अनुहार याद समेत गर्न सक्दिन, जसले मेरो कागजात भरेका थिए । उनले मलाई हेरेर मुस्कुराएका
थिए,
"सबै ठीक छ, चिन्ता नगर्नुहोस्।" तर के उनलाई थाहा थियो कि उनको
एउटा साधारण गल्तीले मेरो स्वाभिमान, मेरो इज्जत र मेरो कर्तव्यपरायणतामा दाग
लगाउनेछ कुनै दिन ? के
उनलाई थाहा थियो कि उनको त्यो "चिन्ता नगर्नुहोस्" भन्ने शब्दले मलाई
भविष्यमा कति चिन्ता दिनेछ ?
सायद
उनी अहिले अर्कै कार्यालयमा बसेर अर्कै सेवाग्राहीलाई "चिन्ता
नगर्नुहोस्" भनिरहेका होलान् प्रमोशन पाएर अहिले ठूलो पदमा पुगेका होलान् वा
सेवानिवृत्त नै भइसकेका होलान । तर म ? म अझै यहीँ छु, अझै त्यही गल्तीको परिणाम भोग्दै छु ।
"तपाईंले अहिले सोहि कागजातको आधारमा अघि बढ्नु शिवाय अर्को
उपाय छैन," भन्छन्
नयाँ कर्मचारी ।
"तपाईं सबै कागजात तयार गर्नुहोस्, हामी हेर्छौं," भन्ने सुरक्षित शब्दहरू । "यो हाम्रो गल्ती होइन,"
भन्ने सुरक्षित वाक्यहरू । "पहिलेका कर्मचारीहरूले
गरेको गल्ती," भन्ने
सुरक्षित बहानाहरू । तर मेरो अस्तित्वको सुरक्षा, स्वाभिमानको सुरक्षा ? त्यसको जिम्मेवारी कसले लिने?
मेरो
विश्वास भत्किएको छ, मेरो आशा
हराएको छ । एउटा साधारण कागजको टुक्रामा भएको गल्तीले मेरो जीवन नै बदलिदिएको छ ।
मैले मेरो सपना, मेरो समय, मेरो पैसा, र
सबैभन्दा महत्त्वपूर्ण - मेरो विश्वास गुमाएको छु सरकारी कार्यालय प्रतिको । मलाई
अझै तिखो, तितो र चर्चर बिझाउने शब्दहरू लेख्ने रहर छ; आक्रोशको ज्वाला ओकल्ने रहर
छ तर म पनि हाललाई सरकारी सेवा सुविधा लिदै गर्दाको अवस्थामा रोकिइरहेको छु । मलाई
यी प्रवृत्ती प्रति, यी बहानाबाजी प्रति र यी गैरजिम्मेवारीप्रति विद्रोह छेड्ने
रहर छ तर मैले बुझेको छु अझै पनि हाम्रो चेतनास्तर माथि उठिसकेको छैन म आफैंले
गरेको विद्रोहको ज्वालामा जलेर राख हुनेछु किनकी मलाई दबाउन मेरै लडाईंमा लामबद्ध
बनेकाहरूको प्रयोग हुनेछ ।
हरेक
दिन म नयाँ कर्मचारीको अनुहारमा त्यो पुरानो कर्मचारीलाई खोज्छु, जसले मेरो जीवनमा यो दुःख थपिदिए । हरेक दिन म सोच्छु,
"के कार्यालय भनेको मान्छेहरू भन्दा फरक
हो र?
कार्यालय त त्यहाँ काम गर्ने मान्छेहरू नै हुन् त । तर
जिम्मेवारी कार्यालयको हो कि कर्मचारीको?"
यी
प्रश्नहरूको उत्तर कहिल्यै नआउला । तर एउटा कुरा पक्का छ: म चाहँदिन कि अरू कुनै
सेवाग्राहीले मैले भोगेको पीडा भोग्नुपरोस् । म चाहँदिन कुनै अरू व्यक्तिले वर्षौंपछि
फेरि यही कार्यालयमा आएर "तर यो त मेरो गल्ती होइन" भन्नुपरोस् ।
सेवा
प्रदायकहरू, तपाईंहरूको हरेक काम, हरेक निर्णय, हरेक दस्तखतले कसैको जीवनमा ठूलो प्रभाव पार्छ भन्ने कुरा
कहिल्यै नबिर्सनुहोस् । तपाईंहरू हरेक दिन "अफिसको समय सकियो" भनेर घर
जानुहोला,
तर तपाईंहरूको गल्तीले कसैको घरमा दुःख र चिन्ता लिएर आइरहेको
छ कि? तपाईंहरूको एउटा साधारण
हेलचेक्र्याइँले कसैको वर्षौंको मेहनत र सपना नष्ट गर्न सक्छ ।
अब
म यहाँबाट निस्कन्छु, फेरि सबै
कागजात जुटाउन, फेरि सबै प्रक्रिया
पूरा गर्न । तर के म फेरि विश्वास गर्छु? के म फेरि त्यही उत्साहले काम गर्छु? शायद होइन...
अनि
शायद त्यही नै यो सिस्टमको सबैभन्दा ठूलो क्षति हो - विश्वासको क्षति, आशाको क्षति, भरोसाको क्षति ।
जब-जब
म यो कार्यालयको ढोकाबाट बाहिर निस्कन्छु, मेरो मनमा एउटै प्रश्न आउँछ: "के यो मेरो अन्तिम भेट
हो?"
तर मलाई थाहा छ, सायद होइन... सायद फेरि कुनै दिन, कुनै कर्मचारीको अर्को गल्तीले मलाई फेरि यहाँ ल्याउनेछ ।
अनि फेरि उही कथा, फेरि उही
पीडा,
फेरि उही निराशा...
अनि
त्यसैले,
जब म आज फेरि यहाँबाट निस्कन्छु, म फेरि एकपटक प्रतिज्ञा गर्छु: अब हरेक कागजात, हरेक अक्षर, हरेक तिथि, हरेक
विवरण - सबै जाँच्नेछु । किनकि अब मलाई थाहा छ, गल्ती जसको भए पनि, दुःख भोग्ने म नै हुँ । अनि त्यही दुःखबाट बच्न, मलाई नै सतर्क रहनुपर्छ, मलाई नै जागरुक हुनुपर्छ।
यो
कटु सत्य हो, तर यही नै हाम्रो
वास्तविकता हो ।
