लक्ष्य जीवनको...............

झापाको एउटा सामान्य गाउँको सामान्य परिवारको सदस्य भएकैले होला निकै जान्ने हुँदासम्म जीवनको लक्ष्य के हो भन्ने थाहा पाइएन । जीवनको लक्ष्यको बारेमा अलि राम्रैसँग सुनेको भनेकै एस एल सी परिक्षामा अंग्रेजी विषयमा  बाहिरी निबन्धको रूपमा आउने एक निबन्ध थियो । त्यो बेला गुरूले कण्ठ पार्न भन्दै डाक्टर बन्ने लक्ष्य लेखिदिनुभएको थियो यद्यपि कण्ठ गर्ने कुरा निकै कष्टप्रद लाग्थ्यो मलाई । सानै देखि अलि चकचक गर्नुपर्ने भएर होला शरिरका विभिन्न भागमा चोटपटक लागिरहनु सामान्य थियो, हातै भाँचिदा वा अलि धेरै टाँका नै लगाउनुपर्दाका क्षण केहि असामान्य भएपनि रमाइलोसँग नै बितिरहेको थियो । घाँस, दाउरा, वस्तु अनि विद्यालयले यि भन्दा बाहिर तिर पुर्‍याउन सकेकै थिएनन बरू कहिलेकाँहि घाँस, दाउरा, वस्तु र विद्यालय नै यसो पौडी खेलाउन, लुकिडुम, चट्टि, गिरसम्म खेलाउन सहयोगी बनेका थिए । 

हामी गाउँमा बस्नेहरूले त्यो बेला देख्ने सपना भनेका नै केहि नहुने रहेछन । धेरैले के बन्छस भन्ने प्रश्नको जवाफमा शिक्षक बन्छु भन्थे । त्यो किन रहेछ भनेर मैले कहिले बुझ्ने प्रयास पनि गरिन न त बुझ्न कहिल्यै आवश्यक नै पर्‍यो । म त्यो दिन झल्याँस्स भएँ जुन दिन अमेरिका र नर्वेका २ परिवारलाई लिएर उनिहरूले सहयोग गर्दै गरेको विद्यालयमा त्यो विद्यालय संचालन गर्ने गैर सरकारी संस्थाको जागिरेको रूपमा उनिहरूलाई लिएर पुगेको थिएँ  । विद्यार्थीहरूसँगको छोटो छलफलमा उनिहरूले विद्यार्थीहरूलाई भविष्यमा के बन्ने  भनेर गरेको प्रश्नको जवाफ शिक्षक र डाक्टर हुने भन्ने आएको थियो । कक्षाकोठाबाट बाहिरिएपछि मलाई ती नर्वेजियन नागरिकले विद्यार्थीहरूले किन शिक्षक र डाक्टर मात्रै बन्ने कुरा गरे भनेर मलाई गरेको प्रश्नले म अलमल्ल परिरहेको बेला उनैले सामान्य छ किनकि उनिहरूले देखेकै यहि २ पेशा हो भने । हो त्यहि दिनदेखि विद्यार्थीहरूमा उनिहरूको सोच्ने आकाश फराकिलो बनाउन विभिन्न पेशा व्यवसायबारे बेलैदेखि जानकारी गराउनुपर्ने रहेछ किनकी उनिहरूलाई मन परेको विधालाई नै व्यवसायिक बनाउन वा विज्ञ बन्न के गर्न सकिन्छ भन्ने बोध गराउन सकियो भने फरक पर्ने रहेछ भन्ने मैले अनुभुत गरें । 

म आफूलाई सानैदेखि घरमा भएका सामानहरू चलाउन मन लागिरहने । त्यो बेला घरमा हुन त के नै थियो र एउटा रेडियो अनि केहि भित्ते घडी । केहि भित्ते घडी पनि घरमा पसल भएका कारणले अगरबत्ति वा यस्तै केहि घरसम्मै ल्याउनेले अलि धेरै परिमाणमा राख्दा उपहार स्वरूप दिएका कारणले जम्मा भएका थिए । मैले उत्सुक बन्दै जीवनमा पहिलोपटक केहि जान्न खोजेको भनेकै त्यो भित्ते घडी कसरी चल्छ भन्ने हो । मलाई अझै याद छ एउटा सानो चक्कुको तिखो चुच्चोले त्यसको स्क्रु खोलेर त्यसमा रहेको लक पत्ता लगाएर धारै धार भएका विभिन्न गोलाकार रिङ्गहरूमा लामा लामा सियो जस्तो मिलाएर राखिएका वस्तुहरूलाई मसिनो तारहरूको झुप्पो नजिकै रहेको सानो गोलो वस्तुले फुत्रुक फुत्रुक उफ्रिएर चलाएको । मैले घडि कसरी चल्छ राम्रैसँग बुझ्ने मौका पाएँथे तर त्यो मेरो जीवनमा मैले के गर्ने भन्ने कुरासँग जोडिन सक्थ्यो भन्ने न कसैले मलाई बतायो न म आँफैले बुझ्न सकेँ । यस्तै मैले सम्झने अर्को प्रसंग छ मेरो दाई लामो समयसम्म मावल बसेर घरतिरै आएर पढ्न थाल्नुभएको थियो । मैले त गोबर ग्याँस भन्ने थाहा नै थिएन तर दाइले नै गोबर ग्याँसले आगो बल्छ बत्ति बल्छ भने सेल ब्याट्रि किन चल्दैन भन्नुभयो । हामी २ दाजुभाइ भएर रेडियोमा बज्न छोडेर फालिएका २ ब्याट्रिको भित्रको कालो धुलोभाग फालेर गोबर लगाइ अलग्गै बट्टामा राखेर परिक्षण गरेका थियौं । साँच्चै संसार जितेको महशुस भएको थियो तर त्यो परिक्षण के का लागि थियो अनि त्यो खुशिको अर्थ के थियो अहिलेसम्म नि मलाई थाहा छैन । 

कक्षा १० को सेन्ट अप परिक्षा दिने बेलाको मुखैमा एउटा अपत्यारिलो घटनाको सामना गर्नुपर्यो हामीले जुन मैले आफ्नो विद्यालयको अब्बल विद्यार्थि बनेर एस एल सी उत्तिर्ण गरेपछि आफूले रोजेको विज्ञान विषय पढ्न नपाउने अवस्थाको कारकमध्येको एक पनि बन्न पुग्यो । तत्पश्चात पढ्ने कुराले खासै प्राथमिकता नै पाएन । एस एल सी उत्तिर्ण गर्दासम्मको अंग्रेजी विषयको अब्बल विद्यार्थी म, त्यो भन्दा माथिको पहिलो परिक्षा मै गलत सावित भएँ । यस्ता धेरै वर्ष लज्जास्पद अंकका साथ बिताएँ मैले । किन त्यस्तो भयो उत्तर म सँगै छैन अहिलेसम्म पनि । 

जीवन अनेक मोडहरूबाट गुज्रदै यहाँसम्म आइपुगेको छ । कैयौं परिक्षाहरूले उत्कृष्टको पगरी गुथाए  भने कैयौं परिक्षाहरूले लज्जाबोध हुने स्थित ल्याए ।  यद्यपि जीवनको गति निरन्तर चलिरहेकै छ । धेरै आर्थिक उन्नति गर्नेहरूसँग तुलना गरेर मन खिन्न हुन्छ कहिलेकाँहि तर आँफूसँगैका धेरैले भन्दा हिम्मत गरेरै भएपनि केहि फरक गरिरहेको अनुभूतिले सन्तुष्टि दिलाइरहेको छ । 

क्रमशः

Post a Comment (0)
Previous Post Next Post