पुनरागमन

ओहो ! ब्लगलाई त्यतिकै छोडेको नि ७ वर्ष पुरा भइसकेछ । नेपालबाट पखेटा लगाएर नेपालीहरूले थोरै समयमै चिटिक्कै सिंगारेको मुलुक यु ए इ पुगेपश्चात सामान्य यसो यात्रा अनुभुति लेख्ने प्रयासपछि त्यतिकै छोडिएको रहेछ । आज खै कताबाट सम्झिएँ, ब्लग खोले, नरमाइलो लाग्यो । त्यहि नरमाइलोपन पोख्न पनि केहि लेख्नैपर्ला जस्तो लाग्यो र यो दुस्साहस गर्दैछु । म गाउँको सामान्य परिवारको मान्छे, प्रविधिप्रतिको उत्कट चाहनाले सामान्य कम्प्युटर चलाउन गाउँ नजिकैको शहरमा साइकल चलाएरै सिकेपनि ब्लग नै थालनी गर्ने हिम्मत अध्ययन सकेर जिविकोपार्जनका लागि भन्दापनि सम्वन्ध विस्तारका लागि शुरू गरेको जागिरले प्रदान गरेको थियो । आज झल्झलि याद आइरहेछ धेरैले भन्ने गरेको जन्माउन सजिलो छ तर हुर्काउन अनि बढाउन निकै नै कष्टप्रद, हो यो ब्लगलाई हेरेर त्यहि महशुस भइरहेछ; मैले यसलाई जन्माएछु मात्र । धेरै समयपछि हराएको आफ्नो सन्तान फेला परे झैं अंगाल्ने प्रयत्न गरिरहेछु परन्तु यसको सुखानुभुति एकैछिन बहकिएका भावनाले हैन निरन्तरको सामिप्यताले मात्र दिलाउनेछ अनि सो को लागि सक्षम छु कि छैन भनेर डराइरहेको छु । मानिसले लेख्ने बोल्ने के हो र ? या त अनुभव या त कल्पना, त्यो भन्दा केहि थप छ जस्तो मलाई चैं लाग्दैन । धेरैपछि लेख्ने प्रयास गर्दैगर्दा आफ्नो अनुभव नै सहज होला कि जस्तो लागेको छ । विगत दुई वर्षदेखि वैदेशिक रोजगारीसँँग जोडिएर काम गर्दैगर्दा अनि थोरै भएपनि विदेशमा काम गरेको अनुभव भएर होला यहि विषयमा केहि कुरा राख्न सहज होला कि जस्तो लागेको छ । हुनत वैदेशिक रोजगारी, नेपाल अनि नेपालीको सम्वन्ध तथा विशेषतः दुरावस्थाबारे धेरै वर्ष धेरै अघि नै लेख्ने प्रयास गरेको म आँफैले भोग्दै जाँदा अनि त्यहि क्षेत्रमा काम गर्दै जाँदा अनुमान र वास्तविकतामा निकै नै फरक रहेको पाएको छु । 
वैदेशिक रोजगारीको क्षेत्र व्यापक बन्दै गइरहेको छ, नयाँ गन्तव्य मुलुकहरू थपिइरहेका छन, सरकार हरतरहले यसलाई सुरक्षित र उपलब्धिमुलक बनाउन सुचना प्रविधिसँग जोडेर कार्य गरिरहेको छ तैपनि अवस्था ५० को दशककै जस्तो छ । कम्तिमा त्यो बेला त मानिस पहिलोपटक नै ठगिन्थ्यो अहिले त वर्षौं खाडी तथा मलेशियामा दुःख गरेर अलि अलि गरेर बचाएको कमाई युरोप तथा ठूला मुलुक पुग्ने मृगतृष्णा मै डुबाइरहेका छन । अहिले जमाना स्मार्ट बनिसक्यो भन्छौं हामी, छन पनि स्मार्ट नै त छ । हातमा स्मार्ट मोबाइल छ, घरमा स्मार्ट टि भि तैपनि वैदेशिक रोजगारीका लागि उत्ति नै परनिर्भर । हुन त सरकारले नै मेनपावरसँग जोडिनुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने हिम्मत गर्न सकेको छैन । कुनै न कुनै रूपमा ठग्नेहरू नै वैदेशिक रोजगारी सम्वन्धि निती निर्माण तहमै पुगेका यथार्थताहरू सार्वजनिक भइरहँदा ठगिनेहरूले न्याय नपाएको कुरा के अनौठो हुन्थ्यो र ? घोत्लिदै जाँदा के नेपालमा रोजगारीको अवसर नै छैन त भन्ने विषयले प्रवेश पायो । पहिलो लकडाउनको बेला मेरो एक अनन्य मित्रले नेपाल भारत बिचको आर्थिक सम्वन्धबारे एउटा लेख तयार गर्ने क्रममा म आफू पनि यो विषयमा नजिकै रहेर केहि खोजि गरेथेँ । त्यो खोजिको क्रममा म छक्क परेथें यो कारणले कि विश्व वैंकको विप्रेषण सुचकांकका अनुसार भारतको अधिकतम विप्रेषण प्राप्त गर्ने मुलुकहरूको १० देश भित्र नेपाल पर्दोरहेछ । सयौं करोड जनसंख्या भएको नेपालभन्दा २२ गुणा ठूलो मुलुक जसका करोडौं नागरिकले संसारकै ठूला ठूला ओहोदामा रहि काम गर्दैछन त्यस्तो देशका लागि हामी यति महत्वपूर्ण रहेछौं भन्ने मैले त कल्पना नै गरेको थिइन । तथ्यांकगत रूपमा हेर्ने हो नेपालले संसारभरबाट प्राप्त गर्ने विप्रेषणको ४० प्रतिशत त भारतमात्रै वैधानिक रूपमै पठाउँदा रहेछौं । सिमावर्ती क्षेत्रमा निर्माण मजदुर तथा मिस्त्रिका रूपमा होस वा फर्निचर, गहना पसल, सर्टिङ्ग सुटिङ्ग जस्ता क्षेत्रमा दक्ष कामदारको रूपमा दिनभर वा हप्ताभर काम गरेर गोजीमा पैसा लिएर जानेको तथ्यांक जोड्ने हो भने त यो दृष्य अझै भयावह बन्न पुग्छ । त्यसो त नेपालीहरू पनि लाखौंको संख्यामा भारतमा कार्य गरिरहेकै छन यद्यपी आर्थिक उपार्जनका हिसाबले अनौपचारिक क्षेत्रमा समेत हामि कमजोर नै रहेको प्रष्ट देखिन्छ । यसका साथै नेपाल भारतको वैदेशिक व्यापारको प्रमुख केन्द्रको रूपमा रहेको छ । यहाँबाट स्पष्ट हुन्छ कि भारतको एउटा ठूलो बजारको रूपमा नेपाल रहेको छ तर त्यो अथाह बजारलाई हामी आफैंले कम आँकिरहेका छौं । 
 पछिल्लो पटक सरकारले वैदेशिक रोजगारीलाई सुव्यवस्थित तथा उपलव्धिमुलक बनाउन विभिन्न सुधारात्मक कार्यहरू गरिरहेको छ । वैदेशिक रोजगारीको अवसर थाहा पाउन नै मेनपावर वा साबिकका एजेन्टहरूको भरपर्नु नपरोस भनेर अहिले त वेबसाइटमा मात्र नभएर नागरिक एपमा समेत हेर्नसकिने व्यवस्था छ तर पनि यसको प्रभावकारिता अत्यन्त न्यून रहेको छ । हुन त ७५ प्रतिशत अदक्ष कामदारको रूपमा जाँदैगर्नुहुने दाजुभाइ दिदीबहिनीहरूको लागि यसको प्रभावकारिता कम हुनु खासै नौलो कुरा हैन तैपनि यसको प्रचार प्रसारपनि जुनरूपले हुनुपर्नेहो तॐयो नभएको हो कि भन्ने लागिरहेको छ । अर्को कुरा हामीमा अर्को एउटा समस्या छ त्यो हो जुनसुकै कार्य गर्नुपरे पनि अरूलाई नै लगाउने । प्राविधिक पक्षमा त स्वभाविकै हो तर ग्राजुएसन गरिसक्दा समेत हामीमा एउटा निवेदन लेख्न पनि अरूकै मद्दत माग्ने बानी परेको छ । हो यहि बानीले वैदेशिक रोजगारीको क्षेत्र थप समस्याग्रस्त बनेको छ । दस हजार वा शून्य लागतको बारेमा न हामी कामदार एकताबद्ध छौं न सरकार प्रतिबद्ध छ । हामी कोहि पनि १० हजार भन्दा बढि तिरेर जादैनौं भन्ने हो भने स्वतस्फूर्तरूपमा मेनपावरहरूले प्रक्रिया अगाडि बढाउँथै वा कोहि कामदारले म फलानो देशको फलानो कामका लागि जान खोज्दैछु तर यति रकम लाग्छ भन्दैछन भन्दा सरकारले कारवाही गर्नसक्ने हो भने अवस्था फरक हुन्थ्यो । वास्तविकता भने ठिक उल्टो छ । वैदेशिक रोजगार ऐन २०६४ को पछिल्लो संशोधनले प्रमुख जिल्ला अधिकारीलाई व्यक्तिगत ठगि सम्वन्धि मुद्दामा द्विपक्षीय छलफल गराउन पाउने साथै संस्थागत ठगिका लागि समेत निवेदन लिएर विभागमा पठाउन सकिने व्यवस्था अत्यन्त महत्वपूर्ण छ । यसका साथै वैदेशिक रोजगार बोर्डबाट प्राप्त गर्न सकिने आर्थिक सहायता लगायतका सेवाहरू स्थानीय तहबाट नै पठाउन सकिने प्रावधान, कल सेन्टरको व्यवस्था जसमा विभिन्न माध्यमहरू (अनलाइन, भाइबर, ह्वाट्सएप, इमो, टेलिफोन) बाट आफ्नो समस्या वा जिज्ञासा राख्न सकिने व्यवस्था सहज सेवा प्रवाहका आधार हुन यद्यपि यसको व्यापक प्रचार प्रसारमा भने अझै काम गर्नुछ जस्तो लाग्छ मलाई ।
Post a Comment (0)
Previous Post Next Post