फरक अनुभूती

अचानक चिच्याउन मन लाग्छ मलाई हो म स्वार्थी छु । तर मेरो कायरता यत्रो ठूलो हिम्मत गर्न सक्दैन । शिथिल शरिर बोझिलो बन्दै गरेको आभाष पाउँछ अवचेतनले । संसार स्वार्थी छ कारण हरेक मानिस स्वार्थी छन् । उसको इच्छा पुरा गर्न नसक्दा म स्वार्थी भएँ अनि उसको इच्छा पुरा गर्नैपर्ने हठले उ मेरोलागि स्वार्थी बन्न पुग्यो । बिष बिनाको सर्प र इख बिनाको मान्छे काम लाग्दैनन भन्ने शिक्षा सानैदेखि पाएको भएपनि त्यसको अन्तरवस्तुलाई व्याहरिकतामा ढाल्न नसक्नु नै सायद मेरो सबैभन्दा ठूलो कमजोरी हुनसक्छ ।
म स्वार्थी भएँ त्यसका लागि जसका लागि म स्वार्थी हुनुहुदैनथ्यो । म स्वार्थी भएको सहज रुपमै आभाष पाउने उसको खुवीलाई त मान्नैपर्छ तर उसले यति सजिलै यत्रो ठूलो विषयवस्तुको उठान गर्ला भन्ने मैले कल्पनै गरेको थिइन । अनायासै फुस्किएको शाब्दिक प्रहार मेरो लागि वाण रोपिएको मृग झै बन्न पुग्यो, जति चाँडो भाग्न खोज्यो उति भित्र पस्दै जाने । उसको हठको मबाट भएको बेवास्ताको प्रहार उसका लागि पनि कम पीडादायक रहेन । बर्षे भेलमा बलौटे बाँधको सान्दर्भिकता के नै रहन्छ र ? निरन्तर बगिरहेका अश्रुधारा सायद यहि कुरा चरितार्थ गर्न खोजिरहेका थिए ।
वास्तवमै म कायर छु यसैलेत हरेक स–साना चुनौतिहरु समेत गतिलो प्रहार उपहार दिएर जाने गर्दछन् । त्यहि प्रहारले बनाइदिएको घाउ र त्यसको खाटोलाई सुम्सुम्याइरहनु सायद मेरो नियति नै रहेछ । म त दिग्भ्रमित भएछु प्रहारहरुको प्रतिकारका लागि म सँग कठोरता वयस्क बनिसकेको छ भनेर तर वास्तविकतामा त वयस्क कठोरता दुधे वालक झैं एक तमासले रुनपुग्यो ।

जतिसुकै विश्वास गर स्वार्थी बन्छ मान्छे
जतिसुकै विश्वास दिलाऊ स्वार्थी भन्छ मान्छे

                                                                          
Post a Comment (0)
Previous Post Next Post