हिजो बिहान घरबाट आएको समान लिन जादाको थोरै अनुभव बाड्ने प्रयास गरेको छु :
शुरुभयो हाम्रो वास्तविक प्रतिक्षा कलंकीमा । २ घन्टाको अन्तरालमा हामीले देखेका दृश्यहरु र हामीले त्यसमा गरेको बिस्लेषण गर्ने प्रयास गरेको छु :


अघिल्लो दिन बेलुकी घरबाट समान आउने कुरा थाहा पाएपछि बिहान कतिबेला लिन जाने हो भनेर छलफल भएपनि खासै निर्णय नगरिकन नै टुंगियो । आउने गाडीको नम्बरको खासै वास्ता नै गरिएन किनकि गाडी स्टाफको मोबाइल नम्बर थाहा लागेको थियो । बिहान ५ बजे नै उठेर उपलब्ध नम्बरमा सम्पर्क गर्ने पहिलो प्रयासले नै हामीलाई बिचलित बनाउन पुग्यो किनकि त्यो नम्बर स्विच अफ गरिएको थियो । साढे सात बजिसम्मको अथक प्रयासमा समेत सम्पर्क हुन नसक्नु, सम्पर्कको लागि अरु कोहि व्यक्ति नहुनु, गाडीको नम्बर थाहा भएपनि नाम थाहा नहुनु, गाडी कहासम्म आइपुग्यो भनेर आकलन गर्ने कुनै बिस्वसिलो आधार नहुनु जस्ता समस्या हुदाहुदै पनि कलंकी गएर कुर्नु शिवाय अरु उपाय थिएन । कलंकी जादै गर्दा घरमा पटक पटकको प्रयास बाट किस्ताबन्दीमा गाडीको नाम र कोटेश्वर सम्म गाडी जाने कुरा पत्ता लागेको थियो ।
बरम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि हामी अहिले र मोबाइल उपलब्ध हुनुभन्दा अघिको समय बारे विश्लेषण गर्न पुग्यौ । अहिले मोबाइलले हरेक कुराहरु सहज बनेका छन् अनि अहिले सम्पर्कित हुन नसक्दा हामी यसरि आतियेका छौ कि मानौ हाम्रो सामान हामी अब पाउनै सक्दैनौ तर यसको अभावमा पनि गाउँघरबाट सामानहरु आउने गर्दथे अनि ती सामानहरु निश्चित व्यक्तिसम्म पुगेको कुरा अहिले सम्झदै असत्य लाग्न थालिसकेको छ । साँच्चै नै हामी यति धेरै यो प्रविधीसँग परनिर्भर बनेका हौ या यो प्रविधी अपरिहार्य बनेको हो हामीले छुट्टयाउन सकेनौ ।
गाडी चढ्न हतार हतार गरेपनि कुनै अप्रत्यासित घटना घटेझैं फनक्क फर्केर उहि अघि हाम्रो छलफलको विषय बनेको मोबाइलबाट कसैलाई सम्पर्क गर्न थालेको एक महिलाको दृश्य केहि समय हाम्रो छलफलको विषय बन्न पुग्यो । हामी उनको कृयाकलाप गौण गरेर हेर्न थाल्यौं । उनको छटपटि र पटक पटक उहि मोबाइलको प्रयोगलाई विचार गर्दा निकै ठूलो समस्या परेको हो कि भन्ने हाम्रो आँकलन एउटा मोटरसाइकलमा आएका एक जोडिले उनलाई पर्स दिएको दृश्यले अरु धेरैबेर सम्म टिक्न पाएन । यदि मोबाइल नभएको भए उनले के गर्थिन होला भन्दै यो दृश्य पनि उहि मोबाइल सँग गाँसिन पुग्यो ।
त्यसपछि विस्तारै मेरा आँखा बल्खु, सातदोबाटो, कोटेश्वर भन्दै कराउने मानिसहरुलाई नियाल्न पुगे । बालबालिकाको शिक्षाको लागि काम गरिरहेको संस्थामा कार्यरत रहेकोले होला मेरा आँखाहरु बालश्रमिकहरुलाई देख्न पुगिहाल्छ अनि त्यसैको प्रतिक्रिया स्वरुप मन विभिन्न तर्कनाहरु गर्न थालिहाल्छ । यहि हुन पुग्यो फेरि एकपटक । हामीले केहि छलफल ग¥यौ ति बालकहरुको बारेमा । मेरो ती बालकहरुको तस्बिर खिच्ने रहर मोबाइलबाट नै पुरा गरेथेँ । फेरी उहि मोबाइलको प्रयोग । ती तस्बिरहरु अलि डराइ डराइ अनि मोबाइलबाट लिएकोले खास राम्रा छैनन् तैपनि यहाँ राखेको छु ः


हामी बारबार बाहिरबाट आएका गाडिहरु पनि निगरानी गरिरहेका थियौ जुन हाम्रो प्रमुख कार्य थियो । गाडिहरु आउने क्रम चलि नै रहेको थियो तरपनि हाम्रो पर्खाइको गाडि आइपुगेको थिएन लगभग नौ बजिसकेको थियो । अफिस जानुपर्ने भएकोले अब फर्किनुपर्ला भन्ने मलाई लागिरहेकोबेला कतिबेर सम्म बस्ने भन्ने जिज्ञासामा हामी अरु आधाघण्टा बस्ने निर्णयमा पुग्यौं र शुरुभयो उहि प्राथमिक कार्यको साथमा अरु सहायक कार्यहरु ।
नजिकै सार्बजनिक शौचालय रहेर पनि खासै असर नपरेको खुला शौच प्रबृत्ति केहिबेर हाम्रो चर्चाको विषय बन्यो । उनको कस्तो लाज नभएका मानिसहरु त्यहि सार्बजनिक शौचालय छ भन्ने सानो आक्रोशलाई सार्बजनिक शौचालय त्यो भन्दा फोहोर छ त्यहि भएर होला भनि अरु चरम बनाउन प्रयास गरे । साँच्चै नै त्यो तत्काल देखियो लाजघिनको चै कुरै छैन त ? उनको अर्को प्रश्नको उत्तर दिन उचित ठानिन तर उनि भने एकोहोरो यो पुरुषहरुको निर्लज्जताको पराकाष्ठा हो कसैको मतलब छैन लाजघिनको त के कुरा गर्नु भन्दै बर्बराइरहिन । मनमनै बिचार गरे वास्तबमै यो खुला शौच प्रबृत्तिलाई बढावा दिने त हामी पुरुषहरु नै पो रहेछौं । म कुरा मोड्दै उपाय के होला त भन्न तिर लागे उनको आक्रोशमा अर्को आक्रोश थपियो डन्डा लगाएर जरिवाना लगाउनुपर्छ । मैले त्यो आक्रोशलाई अलि मत्थर पार्न भगवानको फोटो, मुर्ति वा यसो एउटा ढुंगामा फूल अबिर चढाएर राख्ने सुझाए जुन निकै प्रचलनमा आइसकेको पनि थियो । हाम्रो यसमा सहमति बन्यो । त्यसपछि अरु मायालु जोडि, आकाशे पुलमा गफमा मस्त मानिसहरु, पटक पटक अगाडिसम्म आएर सिठि बजाउदै गाडिलाई हटाइरहेकि महिला ट्राफिक प्रहरिलाई हाम्रो सहायक काम बनाउदै निर्धारित समय सिध्यायौ तर हाम्रो प्राथमिक कार्यको सुनिश्चितताको कुनै सम्भावना नै थिएन । अरु कति दुख पाइने हो सो सामान लिन भन्दै हामी फर्कियौं । करिब आधाबाटो आइपुग्दा घरबाट पाएको जानकारी अनुसार हाम्रो सम्पर्क ब्यक्ति अब उपलब्ध भयो भन्ने जानकारी सँगै फर्कियौ उहि पुरानो प्रतिक्षा स्थल र केहिबेरको कुराइपश्चात सामान लिएर कोठातिर लाग्यौं ।