नेपालका केहि घटना क्रमलाई हेर्ने हो भने जनता र नेता विलकुल फरक हुन भन्ने प्रतित हुन्छ । नेता बन्न सर्बप्रथम जनता हुनु पर्छ भन्ने कुरा सायद गलत सावित भइसकेको अवस्था हो कि यो । मैले एकपटक गाउँमा पुराण सुन्ने क्रममा एउटा कथा श्रवण गरेको थिएँ जसमा अप्रत्यासित रुपमा शक्ति पाएपछि एउटा मुसोले सधै सर्व शक्तिमान रहन गरेको हर्कत र त्यसको परिणाम अभिव्यक्त गरिएको थियो । जुन यसप्रकार रहेको छ :
एकजना ऋषिको आसपासमा एउटा मुसा लुटुपुटु गर्दै रमिरहेको थियो । उसको दिनचर्या सहज ढंगले गुज्रिरहेको अवस्थामा एक बिरालोको आगमन त्यो मुुसाको लागि अत्यन्त कष्टकर बन्न पुग्यो । यस्तो अवस्थामा उसको स्वतन्त्र जीवन कुण्ठित बन्न पुग्यो । पटक पटक बिरालोको आक्रमणले उसको अस्तित्व नै संकटमा परेपछि उसले ऋषिमुनिसँग केहि उपाय माग्ने सोच बनायो । मौका मिलाएर बडो कारुणिक ढंगले ऋषिसँग आफूलाई आइपरेको समस्याको बेलिबिस्तार लगायो । मुसाको त्यो दुर्दशा देखेर ऋषि पनि चिन्तित बन्न पुगे र मुसालाई नै के उपाय गरौं त भनि सल्लाह मागे । मुसाको मनमा एकाएक निकै ठुलो सपना सजियो सोहि अनुरुप उसले मलाई सिंह बनाइदिनोस भनि आग्रह ग¥यो । ऋषिले पनि तथास्तु भन्दै उसलाई सिंह बनाइदिए । अब मुसा सिंहको रुपमा आना दिनहरु बडो आनन्दपुर्वक बिताउन थाल्यो । समय बित्दै जाँदा सिंह बनिसकेको मुसामा घमण्ड बढ्दै गयो र सदैब सिंह रहिरहनको लागि अर्को कुटिल उपाय सुझायो । सोहि योजना अनुरुप उ ऋषिमुलाई सिध्याउने ध्याउन्नमा मौका मिलाउन थाल्यो । एकदिन उपयुक्त मौका यहि हो भन्दै झम्टन मात्र के लागेका थियो ऋषिले पुनर्मुसिको भवः भन्दै मुसा नै बनाइदिए ।
यो कथामा झै हामि नेपालीले कुनै बेलाका मुसा र हाम्रो कारणबाट सिंह बन्न पुगेका, आफ्नो वास्तविक धरातल बिर्सेर हामि माथि नै पटक पटक निर्मम प्रहार गरिरहेका नेता भनाउँदाहरुलाई केहि सबक सिकाउने बेला आएको छ । देश दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । हरेक आधारभूत आवश्यकताहरुको उपलब्धताको दर घट्दो छ, परनिर्भरता, विदेश पलायनता, अपराधिकरण, कुशासन, भ्रष्टचार हाम्रा पहिचानका सुचक बनेका छन् । एउटा नेताको छोरा भएकै कारण करोडौ रुपैया मृग मरिचिकाको रुपमा रहेको शान्ति र संविधानको लागि भन्दै सगरमाथा आरोहणको लागि पाउँछ भने एउटा सर्वसाधारण जनता झाडापखालाको ट्याबलेट नपाएर मृत्युवरण गर्न बाध्य छ । हामी जनताले देखाएको शान्ति र संविधान प्रतिको धैर्यताको अवमुल्यन हुँदै गइरहेको छ । यस्तो अवस्थामा हाम्रो भूमिकालाई शसक्त रुपमा प्रस्तुत गर्न के सकिन्छ आफ्नो सुझाब पठाउनुहुन हार्दिक अनुरोध गर्दछु ।