अचानक मेरो मोबाइल काम्न थाल्यो मलाई कसैले सम्झिएको सूचना प्रबाह गर्दै । यसो हेरे थोरै समय संगत गरेपनि नजिक बाट चिन्न पाएको अनि आत्मीय लाग्नुहुने दाजुको रहेछ । म खासै सहज परिस्थितिमा नहुदा नहुदै पनि फोन उठाए । कहाँ हो भाइ वहाको पहिलो प्रश्न । आउदैछु कोठा तिर मेरो जवाफ । मेरो तिर आउने हो कि वहाको अस्पस्ट अनुरोध । हस म आए है त ।
मनमा अनेक तर्कनाहरु तरंगित भइरहे । निकै समय भैसक्यो अझै यतै हुनुहुदो रहेछ किन होला आदि आदि ।केहि पुराना सगै हुदाका दिन केहि अहिलेको दाइको अवस्था यस्तै यस्तै सोच्दा सोच्दै मैले आफ्नै गोडाले शरीर अगाडी बढाउनुपर्ने ठाउँ आइपुगेछ । हतार हतार गर्दै बढिरहेको मेरा पाइला त्यो ढोकामा पुगेर अलि सहज बन्ने प्रयास गर्नपुगे । यसो ढोका खोले सदाको त्यो हसिलो अनुहारमा असरल्ल छरिएका बेदनाहरु पटक्कै सुहाएका थिएनन्, भित्र भित्र दन्किरहेको आक्रोशको ज्वाला बाध्यता र परिस्थितिको सांग्लोले जेलिएको प्रस्टै थाहा हुन्थ्यो । वहाको बस भाई भन्ने सानो अनुरोध सगै क्षणभरमै मेरो मनमा कुस्ती खेलिरहेका अनुमानका जत्थाहरू भागरेभाग बन्न पुगे । अनि के हो कुरा किन यस्तो भयो निकै दिन भैसकेन र ? मैले एकैचोटी जिज्ञासाका पोका हुत्याए । वहाको बेलिबिस्तार सुन्दै रहे अनि बाध्य बने सोच्नलाइ एउटा नेपाली अर्को नेपालीको कमाइको भाडो बनेको छ त्यो पनि अरु कुनै विदेशीलाई अरु धेरै कमाउने अवसर दिनका लागि अनि त्यहि आफ्नै दाजुभाई देखि ठगिन शुरु गरेको यौटा नेपाली इज्जतको इ सम्म पाउदैन कस्तो बिडम्बना । पर्सि हुन्छ तपाइको उडान भनेर बोलाइएको मान्छे 25 दिन बितिसक्दा पनि अझै कैले उडाउने हो पत्तो छैन पैसा सब सकिसक्यो छोराछोरी श्रीमती बिरामी छन् भन्दै दुखेसो पोख्न बाहेक अरु केहि गर्न सक्दैन । तिनै परिश्रम हैन पसिना हैन रगत चुस्ने हरुसग यिनै कुरा गर्दा आफ्नै अगाडी आफु जस्तै अर्को पिडितले निर्घात कुटाई खाएको देखेको छ । ऋण काढेर ल्याएको पैसाको ब्याज बढिरहेको छ जान पाइने हो कि पैसा उठाउन फेरी दुख पाउनुपर्ने हो थाहा छैन ।
वास्तबमै यो घोर अपराधको जालो चिर्न किन कोहि सक्षम भैरहेका छैनन् । देशमै रोजगारी दिननसक्ने लाचार सरकार दिनानुदिन मात्रा बढ्दै गैरहेको रेमिटेन्सको वास्तविक श्रोतको सम्मान गर्न सकिरहेको छैन । श्रम मन्त्रीलाई हटाएर ठुलो काम गरेको महशुस गर्नेहरु किन हजारौ हजार नेपालीको दुखमा कठै भन्न सकिरहेका छैनन् ? किन रगत चुस्नेहरुनै रगत बगाउने धम्कि छाट्दै कुर्लिरहेका छन् ? वास्तबमै प्रश्नका डङ्गुर हरु सगरमाथा भन्दा भयङ्कर छन् तर समाधानक टुसा हरु कहिले कसरि चुडिन्छन कोहि पत्तो पाइदैन यहाँ । वहा त यौटा प्रतिनिधि पात्र मात्र बन्नुभएको छ । यस्ता हजारौ लाखौ घटनाहरु घटिरहेछन् । थाहा नापौनेहरु बुझ्न खोज्दा खोज्दै हराइरहेका छन्, बुझ्नेहरू रमिता हेर्दै रगत चुसिरहेका छन् ।